१४ बैशाख काठमाडौ। गोरखा क्षेत्र नम्बर २ ले केन्द्र र प्रदेशमा प्रधानमन्त्री, मुख्यमन्त्री पाएको छ ।तत्कालीन माओवादी नेता बाबुराम भट्टराई सबैभन्दा बढी मतान्तरसहित २०६४ को संविधान सभा चुनावमा यो क्षेत्रबाट चुनाव जिते।गोरखाका गाउँ-गाउँमा प्रचण्डले एउटा कुरा भन्न छुटाउँदैनथे- यहाँबाट चुनाव जितेपछि सम्भवत म प्रधानमन्त्री र सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्ने हो।
पाण्डे बिहीबार गण्डकी प्रदेश मुख्यमन्त्री नियुक्त भए। कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका ७, नेकपा एकीकृत समाजवादीका १ गरी ३५ जना सांसदको समर्थन जुटाएका पाण्डेलाई प्रदेश प्रमुख पृथ्वीमान गुरूङले संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्।प्रचण्डले चुनावका बेला आफू प्रधानमन्त्री र सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बनेपछि गोरखामा विकास निर्माणले गति लिने दाबी गरेका थिए।
गोरखा २ मा चुनाव लड्न नेपाली कांग्रेसले पाण्डेको नाम एकल सिफारिस गरेको थियो। तर गठबन्धन हुने, प्रचण्ड नै उम्मेदवार हुन आउने भनेपछि पाण्डे प्रदेश सभामा उम्मेदवार भए। प्रचण्डलाई पाण्डे र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले मैदान खाली गरिदिए।
शेरबहादुरजीसँग पनि कुरा गरेँ, सुरेन्द्रजी प्रदेशमा जानु हुने भयो, उहाँलाई मुख्यमन्त्री बनाउने सल्लाह गरियो,’ प्रचण्डले भनेका थिए, ‘मलाई लाग्छ, चुनाव जितेपछि सुरेन्द्रजी मुख्यमन्त्री बन्नुहुन्छ। त्यस्तै तालमेल मिल्यो भने म पनि देशको नेतृत्व गर्न पाउने सम्भावना छ। त्यसो भयो भने गोरखा २ त भाग्यमानी क्षेत्र हुने भयो। प्रधानमन्त्री पनि, मुख्यमन्त्री पनि पाउने।’
प्रधानमन्त्री र मुख्यमन्त्री भएमा गोरखाका बाटाघाटा कुनैमा पनि धुलो नउड्ने, कालोपत्र गरिने दाबी प्रचण्डको थियो।राष्ट्रपति निर्वाचनका बेला प्रचण्डले पुस १० को गठबन्धन छोडेर कांग्रेससहित पुरानै गठबन्धनमा फर्किएका थिए। प्रचण्डले गठबन्धन फेरेका कारण गण्डकीमा बिहीबार मुख्यमन्त्री कांग्रेसले पायो। पाण्डेको नियुक्तिसँगै प्रचण्डले चुनावका बेला गरेको वाचा पूरा भयो।