५ जेठ काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाण पक्राउ परेको ९ दिन बितिसक्दा पनि पार्टी सभापति शेरबहादुर देउवाले सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन् । खाणलाई निलम्बन गर्नुपर्ने महामन्त्रीहरूको प्रस्तावलाई पनि उनले वास्ता गरेका छैनन् । यो प्रकरण उठ्ने अड्कलमा देउवाले पार्टी बैठक पनि टार्दै आएका छन् कांग्रेस सभापति देउवा प्रधानमन्त्री भएका बेला गृहमन्त्री रहेका खाण वैशाख २७ मा पक्राउ परेका हुन् । पक्राउ परेकै दिन र भोलिपल्ट पदाधिकारी बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाणलाई तत्काल पार्टीको जिम्मेवारीबाट अलग गर्नुपर्ने प्रस्ताव राखेका थिए ।
खाणलाई पार्टीबाटै निलम्बन गर्दा शरणार्थी प्रकरणको लहरो अझै तानिन सक्ने भय देउवामा छ । आरजु राणाप्रतिको आशंकालाई बल पुर्याउने खालका गतिविधि नहोस् भनेर उनले सजगता अपनाइरहेका छन् । आफैंले नेतृत्व गरेको सरकारको गृहमन्त्री पक्राउ परेको बेला लहरो कहाँसम्म पुग्छ भन्ने भेउ अझै देउवालाई छैन,’ ती केन्द्रीय सदस्यले भने । निलम्बनका विषयमा देउवा मौन बस्नुको अर्को कारण संस्थापन समूहभित्र खाणको बलियो धार पनि हो । खाणलाई विश्वासमा नलिँदा आफ्नै समूह कमजोर हुने र यही मौकामा आफूमाथि प्रहार हुन सक्ने उनको बुझाइ देखिन्छ ।
महामन्त्री थापाले शरणार्थी प्रकरणलाई लिएर पार्टीभित्र ध्रुवीकरणको बीउ रोप्न चाहेका छन् । यस मुद्दामा संस्थापनइतर पक्ष एकै ठाउँमा उभिने सम्भावना छ । थापाले पदाधिकारी बैठकमा प्रस्ताव गरेलगत्तै नेता शेखर कोइरालाले पनि खाणलाई निलम्बन गर्नुपर्ने विषय उठाएका थिए । आम जनमत भ्रष्टाचार र कुशासनको विरोधमा रहेकाले पनि खाणको निलम्बन अनिवार्य रहेको तर्क महामन्त्री थापा र संस्थापनइतरपक्षीय नेताहरूको छ ।
निलम्बन गर्नुपर्ने महामन्त्रीहरूको प्रस्तावलाई खुलेर प्रतिवाद गर्नेमा खाणनिकट सहमहामन्त्री महेन्द्र यादव छन् । सैद्धान्तिक रूपमा फरक दल भएकाले एमालेकै सिको कांग्रेसले किन गर्ने भन्ने उनको प्रश्न छ । ‘खाण दाइलाई आरोपितमा समातिएको हो । उहाँविरुद्ध लगाइएको आरोप पुष्टि नहुँदासम्म पार्टीबाट निलम्बन गर्नुको अर्थ उहाँले गल्ती गर्नुभएकै हो भनेर पार्टीले मान्यता दिनु हो । कांग्रेसका कतिपय सदस्य परम्परालाई जोडेर खाणको हकमा फरक नजिर स्थापित गर्न नहुने तर्क गर्छन् । ललिता निवास प्रकरणमा विजयकुमार गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता हुँदासमेत उनलाई पार्टी पदाधिकारीबाट निलम्बन गरिएन ।