१६ जे काठमाडौ। मोबाइल फोन आउँदो असारसम्म दर्ता नभए नेपालमा नचल्ने भएका छन् । सरकारले आइतबार संघीय संसद्मा पेश गरेको आर्थिक विधेयक २०८० मा प्रयोगमा रहेका फोन मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा दर्ता गर्ने अन्तिम म्याद तोकिएको हो । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हाल करिब ५५ लाख (८३ लाख २७ हजार ६०६ आईएमईआई-प्रायः जसो फोनमा दुई ओटा आईएमईआई हुने) मोबाइल फोन एमडीएमएसमा दर्ता नभई प्रयोगमा रहेका छन् । यो गत भदौदेखि यही १५ जेठसम्मको तथ्याङ्क हो ।यस्तो फोनको शुल्क बुझाउन अर्थ मन्त्रालयले एक राजस्व खाता तोकिदिने बताइएको छ ।
आर्थिक विधेयक अनुसार एमडीएमएसमा दर्ता नभएका मोबाइलमा असारपछि नेपालमा नचल्ने गरी ‘कन्ट्री लक’ लाग्ने बताइएको छ । यद्यपि त्यसअघि प्रयोगकर्तालाई मोबाइल दर्ता गर्न सार्वजनिक सूचनाका साथै एसएमएसबाट समेत जानकारी दिइने प्राधिकरणले जनाएको छ ।
मोबाइल लक हुने सम्बन्धी सूचना, एमडीएमएसमा मोबाइल दर्ता गर्न निर्धारित रकम जम्मा गर्ने खाता, त्यसरी रकम बुझाइएका आईएमईआई स्वतः प्राधिकरणको सिस्टममा आइपुग्ने डिजिटल सिस्टम बनाउने अथवा रकम जम्मा गरेको निस्सा बुझाउने लगायतका विषयमा प्राधिकरण, अर्थमन्त्रालय र भन्सार विभागको संयुक्त बैठकले टुङ्याउने बताइएको छ ।उक्त खातामा रकम बुझाई सोको प्रमाणसहित एमडीएमएस प्रणालीमा दर्ता गर्न सकिने प्राधिकरणले जनाएको छ ।
मोबाइल एमडीएमएसमा दर्ता छ कि छैन, कसरी थाहा पाउने ?
एमडीएमएस डट एनटीए डट जीओभी डट एनपीमा खोल्नुहोस् अथवा गरी नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस पोर्टलमा जानुहोस् । त्यहाँ थोरै तलतर्फ जानुहोस् र बायाँतर्फ दिइएको बक्समा आफ्नो मोबाइलको आईएमईआई नम्बर राखेर 'खोज्नुहोस्' लेखिएको निलो बटनमा दबाउनुहोस् । यदि तपाईंलाई आफ्नो मोबाइलको आईएमईआई नम्बर थाहा छैन भने *#06# डायल गरी चेक गर्न सक्नुहुन्छ । यदि तपाईंको मोबाइल एमडीएमएसमा दर्ता रहेछ भने त्यसको जानकारी पपअप विन्डोमा देखिन्छ ।